शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

समुदायको सक्रियता बिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

सोमबार, असोज २७ २०८२

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको सक्रिय सहभागिताविना विपद् जोखिम न्यूनीकरण सम्भव नहुने बताएका छन्। उनका अनुसार, विपद् व्यवस्थापनका कार्य सफल बनाउनका लागि सबै तहका सरकार, समुदाय र सरोकारवालाबीच समन्वय, सहकार्य र सहभागिता अनिवार्य छ।

गृहमन्त्री अर्यालले सो कुरा आज अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित ‘विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन’मा व्यक्त गरेका हुन्। सम्मेलनको आयोजना **राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको हो।

उनले नेपाललाई भौगोलिक रूपमा सुन्दर तर विपद् जोखिमयुक्त देशको रूपमा उल्लेख गर्दै पछिल्ला वर्षहरूमा भएका भूकम्प, बाढीपहिरो र अन्य विपद्का कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको बताए।

“विपद्ले विकासको गति रोकेको छ। त्यसैले सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ,” उनको भनाइ थियो।

गृहमन्त्री अर्यालले थपे — “विपद् प्राकृतिक मात्रै होइन, सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडिएको विषय हो। केन्द्रदेखि स्थानीय तहसम्म रहेका संयन्त्रहरू जिम्मेवार र सक्रिय हुनुपर्छ।”

यस अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले सरकारी नीतिहरूलाई थप प्रभावकारी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिए। उनले विपद् बढ्दै गएको अवस्थामा विकास निर्माणका सबै कार्यहरू विपद्–संवेदनशील दृष्टिकोणका साथ अघि बढाउन आवश्यक रहेको बताए।

नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले सम्मेलनले पूर्वसूचना प्रणाली, समुदायमा आधारित समाधान र लैङ्गिकमैत्री दृष्टिकोणका अभ्यासहरू सुदृढ गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

इसिमोडका महानिर्देशक डाक्टर पेमा ग्माम्त्सोले विपद् जोखिम व्यवस्थापनमा प्रविधिको उपयोग, स्रोतको परिचालन र चेतना अभिवृद्धिलाई प्रमुख विषय बनाउनुपर्नेमा जोड दिए

त्यसैगरी, रोशनकुमारी श्रेष्ठले सम्मेलनले मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका लागि ज्ञान, सीप र दक्षता अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनले नीतिनिर्माता, अभ्यासकर्ता, विकास साझेदार, शिक्षाविद्, नागरिक समाज, निजी क्षेत्र र सामुदायिक नेताहरूबीच अनुभव र नयाँ अभ्यासहरू साझा गर्ने प्रमुख प्लेटफर्मको रूपमा काम गर्ने आयोजकहरूले जनाएका छन्।