काठमाडौं । हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली युवा विपिन जोशीको नाम रिहा हुने बन्दकहरूको सूचीमा नरहेको पुष्टि भएको छ।
प्यालेस्टिनी समाचार संस्था शेहावले सार्वजनिक गरेको सूचीमा जोशीको नाम समावेश नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार रिहा हुनेहरूको सूचीमा विपिनको नाम नदेखिएको हो।
अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।
यसअघि इजरायली अधिकारीहरूले जोशी जीवित नरहेको जानकारी परिवारलाई दिएका समाचारहरू सार्वजनिक भएका थिए। तर, परराष्ट्र मन्त्रालयले भने त्यो विषयमा औपचारिक पुष्टि नभएको स्पष्ट गरेको छ।
‘पढ्दै कमाउने कार्यक्रम’ अन्तर्गत इजरायल गएका जोशी २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा परेका थिए। उनको रिहाइका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक माध्यममार्फत प्रयास गरेको थियो।