शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको आरोप : कार्की सरकार निर्वाचन होइन, मुठभेडतर्फ उन्मुख

शनिबार, असोज २५ २०८२

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार निर्वाचन गराउनेभन्दा पनि देशमा तीक्तता र मुठभेडको वातावरण सिर्जना गर्न उद्यत रहेको आरोप लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा शुक्रबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिँदै भने, “भदौ २३ र २४ पछिको विशेष परिस्थितिमा बनेको सरकारले विभाजित मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्नेमा निषेध र विभाजनको बाटो समातेको छ।”

ज्ञवालीका अनुसार सरकारले शान्तिपूर्ण गतिविधिलाई रोक्दै हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिने जस्तो कार्य गरेको छ, जसले चुनाव होइन, मुठभेड र अस्थिरतामा देश धकेल्ने संकेत दिएको छ ।

एमालेले सर्वदलीय बैठक बोलाउने जिम्मेवारी सरकारको हुँदाहुँदै राष्ट्रपतिले बोलाउनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको उल्लेख गरेको छ । ज्ञवालीले भने, “राष्ट्रपतिले दिएको कार्यादेश निर्वाचनका लागि हो, तर सरकार त्यसबाट विचलित हुँदै अन्य गतिविधिमा केन्द्रित भएको छ ।”

बैठकले भदौ २३ र २४ का जेन–जी आन्दोलनका घटनाबारे गहिरो छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । “त्यो आन्दोलनमा घुसपैठ भयो, निषेधित क्षेत्र तोडियो । लोकतन्त्र, संविधान र इतिहासप्रतिको आक्रमणका रूपमा त्यसको अनुसन्धान गर्नुपर्छ,” ज्ञवालीले बताए ।

उनका अनुसार शनिबार पुनः बस्ने सचिवालय बैठकले निर्वाचन वा संसद् पुनःस्थापनाबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ । साथै, महाधिवेशनको तयारीसहित नेतृत्व पुस्तान्तरण, हस्तान्तरण र पुनर्गठनका विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।