काठमाडौँ । जेनजीका अगुवा सुदन गुरुङसहितका नेताहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध जाहेरी बुझाउन भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँ पुगेपछि केहीबेर स्थिति तनावग्रस्त बनेको छ।
उक्त घटनामा भदौ २३ र २४ गतेको आन्दोलन सम्बन्धी मुद्दा अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक आयोग गठन भइसकेको छ।
प्रहरी स्रोतका अनुसार, आयोगले कसलाई कारबाही गर्ने वा नगर्ने निर्णय गर्ने भएकाले तत्काल जाहेरी दर्ता गर्न नसकिने जानकारी दिइएको थियो।
गुरुङ पक्षले भने, “यो जाहेरी तपाईँले दर्ता गर्नैपर्छ, नत्र हामी देखाइदिन्छौँ।” प्रहरी अधिकृतले तत्काल दर्ता गर्न नसकिने बताएपछि धम्कीपूर्ण शैलीमा “भोलि देखाइदिन्छौँ” भनेका थिए। प्रहरीले उनीहरुलाई सम्झाई–बुझाई फिर्ता पठाएको थियो।
साथै, जेनजी अगुवाहरूले सामाजिक सञ्जालमार्फत ‘एरेस्ट केपी ओली–रमेश लेखक’ अभियान चलाएका छन्। उनीहरूको माग अनुसार, भदौ २३ गतेको जेनजी आन्दोलनमा राज्यद्वारा गरिएको दमन र हताहतीबारे तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गर्नुपर्ने बताएको छ।
सुशीला कार्की नेतृत्वको सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले सामाजिक सञ्जालमार्फत उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै दिउँसोदेखि नै सामाजिक सञ्जालमा अभियान थालेका थिए ।