म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा गएको पहिरोका कारण कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ ।
रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो सडक मार्ग चीन र भारतसम्म जोड्ने महत्वपूर्ण अन्तरदेशीय सडक पनि हो । तर हाल सिरुवारी र खामभित्ताको क्षेत्रमा पहिरो खसेपछि यातायात सञ्चालनमा समस्या देखिएको हो ।
सडक व्यवसायी भोजबहादुर थापाका अनुसार सामान्य वर्षा हुँदा पनि सडकमा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ । “सडक साँघुरो र हिलाम्मे भएकाले सवारी साधनले जोखिम मोलेर आवतजावत गर्नुपर्छ,” थापाले भने, “माथिबाट ढुङ्गा खस्ने र यात्रुलाई चोटपटक लाग्ने सम्भावना भएकाले सावधानी अपनाउनुपरेको छ ।”
कालीगण्डकी नदीमाथि अवस्थित सडक खण्डमा करिब आठ सय मिटर माथिबाट करिब दुई सय मिटर चौडाइमा पहिरो खसेको छ । यसले माझखर्क बस्ती समेत जोखिममा पारेको छ । कोरला नाका हुँदै सामान ढुवानी गर्ने ठूला कन्टेनरहरू पनि यही सडक प्रयोग गर्ने भएकाले आपूर्तिमा समेत असर परेको छ ।
रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनका अनुसार पहिरो क्षेत्र साँघुरो भएकाले दुईतर्फी यातायात सञ्चालन गर्न नसकिने र गाडी फस्ने समस्या बढ्दै गएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले सिरुवारी र खामभित्ताको पहिरो यस बर्खामा सबैभन्दा बढी अवरोधकारी बनेको जानकारी दिए । उनका अनुसार बर्खायामभरी पहिरो पन्छ्याउँदै यातायात सञ्चालन गरिएको छ । “हाल डोजर र लोडर तयारी अवस्थामा राखिएको छ,” उनले भने, “बर्षा रोकिएपछि सडक सफा गरी दुईतर्फी गाडी चल्ने बनाइनेछ ।”
सिरुवारीको ठूलो पहिरो रोकथामका लागि प्राविधिक अध्ययन भइरहेको र तत्काल मर्मतमार्फत सडक सञ्चालनमा ल्याइएको पनि उहाँले बताउनुभयो । साथै, बेनी–जोमसोम सडकखण्डका अन्य पहिरो प्रभावित स्थानहरू — चमेरे, बैसरी, गुइठेभिर, लाटाखोला र रुप्से क्षेत्रमा ढलान र स्थायी पहिरो नियन्त्रण कार्यका लागि ठेक्का सम्झौताको तयारी भइरहेको आयोजनाले जनाएको छ ।