रामेछाप । लगातारको वर्षाले रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
स्थानीय राज मैनालीका अनुसार, गत वर्ष बाढीले बगाएको स्थानमा अस्थायी रूपमा बनाइएको रोशी खोला किनारको सडक यसपालि पुनः बगाएको छ।
उनका भनाइमा,“गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर खोला किनारमा अस्थायी सडक बनाइएको थियो, तर अहिले त्यो सडक पनि अधिकांश भागमा बगाएको छ।”
अघिल्लो वर्षको असोज महिनामा आएको बाढीले पनि रोशी खोला र सुनकोशी नदी आसपासको क्षेत्रलाई व्यापक क्षति पुर्याएको थियो। सो क्षेत्रको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याइएको भए पनि यसपालि पुनः कटान हुँदा यातायात पूर्णरूपमा रोकिएको छ।
सडक बगाएपछि पूर्वबाट काठमाडौं आउजाउ गर्ने सवारी साधनहरूलाई दोलखाको चरिकोट हुँदै आउनुपर्ने भएको छ।
सडक विभागका महानिर्देशक विजय जैशीले बीपी राजमार्ग पुनः सञ्चालनमा ल्याउन कम्तीमा सात दिन लाग्ने बताए। उनका अनुसार,
“खोलाको पानीको बहाव कम भएपछि मात्रै मर्मत कार्य सुरु गर्न सकिन्छ। गत वर्ष जस्तै यसपालि पनि खोलाले सडक कटान गरेको छ।”
हाल बाढीपीडित क्षेत्रमा सडक मर्मतका लागि उपकरण र जनशक्ति परिचालनको तयारी भइरहेको विभागले जनाएको छ।