काठमाडौं । अविरल वर्षाका कारण देशभर सडक अवरुद्ध भएको पछिल्लो अवस्थाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले केही ज्योतिषीय भ्रम र गलत प्रचारले पनि क्षति बढ्न योगदान पुर्याएको बताउनुभयो।
मन्त्री घिसिङले नाम नखुलाई उल्लेख गर्दै भने, “सरकारले सतर्कता र सुरक्षा सम्बन्धी सूचना जारी गरेको थियो, तर केही ज्योतिषहरूले ‘यो हुँदैन, गलत हो’ भनेर प्रचार गरे। त्यसैले पनि ट्रेकिङमा हिँडेका नागरिकहरू अघि बढे, जबकि सरकारले सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो। यसले पनि केही हदसम्म क्षति बढाउन सहयोग गरेको देखिन्छ।”
मन्त्री घिसिङले लक्षित गरेको ज्योतिष हरिहर अधिकारी रहेको बुझिएको छ। अधिकारीले केही दिनअघि सामाजिक सञ्जालमार्फत सरकारले जारी गरेको भारी वर्षाको सूचना गलत भएको दाबी गरेका थिए।
उनले भनेका थिए,“मौसम विभागले १७ देखि २० गतेसम्म भारी वर्षा हुने भनेको छ, तर अहिलेको अवस्थालाई हेर्दा सामान्य वर्षा मात्र हुनेछ, महाविपद् देखिँदैन।”
तर पछिल्ला दुई दिनको अविरल वर्षाले देशभर ५० भन्दा बढीको मृत्यु, दर्जनौँ बेपत्ता र सयौँ घाइते भएको तथ्यांक सार्वजनिक भएपछि अधिकारीको भविष्यवाणी पूर्णरूपमा गलत सावित भएको छ।