काठमाडौं । इलाममा बाढीपहिरोका कारण घाइते भएका व्यक्तिहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
विगत केही दिनदेखि परेको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा पहिरो र बाढीका घटनाहरू बढेका छन्।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
स्थानीयवासी मिलन लिम्बुका अनुसार माङसेबुङ–१ गजुरमुखीबाट गम्भीर घाइते गर्भवती महिलासहित ४ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा पुर्याइएको छ।
स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रूपमा उद्धार तथा राहत कार्यमा संलग्न रहेका छन्।