काभ्रेपलाञ्चोक । मनसुन सक्रिय भई बाढी–पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीपछि जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले असोज २१ गते रातिसम्मका लागि यो निर्णय गरेको हो।
समितिका अनुसार साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालन हुनेछैनन्। विशेषगरी धुलिखेलस्थित काभ्रेभञ्ज्याङदेखि सिन्धुली सिमानास्थित नेपालथोकसम्मको सडक खण्डमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक उमेश ढकालले जानकारी दिए।
यसअघि गत भदौ १६ देखि १५ दिनसम्म पनि सो राजमार्गमा यस्तै रोक लगाइएको थियो। राजमार्गमा बाढीपहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन समितिले सर्वसाधारणलाई आग्रह गरेको छ। काठमाडौँबाट आउने गाडी नेपालथोकमा र राजधानीतर्फ जाने सवारी काभ्रेभञ्ज्याङमै रोकिने व्यवस्था मिलाइएको छ।
गत वर्ष असोजमा पहिरोका कारण चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्म करिब आठ किलोमिटर सडक बगाएको थियो। हाल अस्थायी सडकमार्फत कतैकतै मात्र दुईतर्फी यातायात सञ्चालन भइरहेको छ। विपद्बाट बढी प्रभावित सडक खण्डमा सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी ८४ किलोमिटर सडकमा ठूलो क्षति पुगेको समितिले जनाएको छ।