बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जेन-जी आन्दोलन छानबिन आयोगका अध्यक्ष कार्कीको निष्पक्षतामाथि उठ्यो प्रश्न

बुधबार, असोज १५ २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे सत्यतथ्य छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि निष्पक्षतासम्बन्धी प्रश्न उठेका छन्।

विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका कार्कीले आन्दोलनकै क्रममा सामाजिक सञ्जालमा निरन्तर टिप्पणी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतामाथि ‘थुन्नुपर्ने, भाग्न नदिने’ जस्ता कठोर अभिव्यक्ति दिएका थिए। यिनै कारणले आयोगको तटस्थतामाथि विवाद बढेको छ।

यसैबीच, मानवअधिकार एलाइन्सले मंगलबार अपिल जारी गर्दै कार्कीका अघिल्ला अभिव्यक्तिले छानबिन प्रक्रियाप्रति अविश्वास पैदा गरेको भन्दै सरकारलाई आयोगको निष्पक्षता सुनिश्चित गर्न आग्रह गरेको छ। एलाइन्सका अनुसार आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन कुनै राजनीतिक वा व्यक्तिगत पूर्वाग्रहबाट प्रभावित हुनु हुँदैन।

एलाइन्सले २०८२ असोज ९ गते गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति पनि आपत्ति जनाएको छ। विज्ञप्तिमा आयोगको प्रतिवेदन आउँदासम्म नियमित संयन्त्रमार्फत कारबाही अगाडि नबढाइने भनिएको छ, जुन फौजदारी न्याय प्रणाली विपरीत र दण्डहीनतालाई प्रश्रय दिने खालको रहेको भन्दै चिन्ता व्यक्त गरिएको हो।

साथै, दोषी ठहर भई फरार रहेका व्यक्तिहरू अझै पक्राउ नपरेको र शान्ति–सुरक्षा अझै सुदृढ नभएको अवस्थाले मानवअधिकार उल्लंघनको जोखिम बढाएको पनि एलाइन्सले औंल्याएको छ। राष्ट्र चुनौतीपूर्ण मोडमा पुगेको भन्दै संगठनले जेन-जी पुस्ताले अघि सारेका परिवर्तनका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेको छ।