काठमाडौँ । बडादसैँ एवं नवरात्रको नवौँ दिन आज देशभर पूजाघर तथा दसैँघरमा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको वैदिक विधिअनुसार पूजाआराधना भइरहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले आश्विन शुक्ल अष्टमी अर्थात् नवौँ दिन महागौरी देवीको आराधना गर्ने परम्परा कायम भएको हो ।
किंवदन्तीअनुसार प्रारम्भमा महागौरीको वर्ण कालो थियो । भगवान् शिवले एकपटक ख्यालठट्टामा ‘ए काली’ भनेपछि देवीलाई असह्य लागेर उनले कठोर तपस्या गरी श्वेतवर्ण प्राप्त गरेकी थिइन् । त्यसै कारण देवीलाई ‘महागौरी’ नामकरण गरिएको विभिन्न पुराणमा उल्लेख छ । श्वेत वस्त्रधारी, गोरो वर्णकी र सेतो वृषभमाथि आरोहण गरेकी स्वरूपमा महागौरीको वर्णन शास्त्रमा पाइन्छ ।
नवरात्रको पहिलो दिन घटस्थापनासँगै देवी शैलपुत्रीको पूजा गरिएको थियो । त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रि देवीको पूजाआराधना सम्पन्न भइसकेको छ । आज अष्टमीका दिन महागौरीको आराधना भइरहेको छ भने नवमीका दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा रहिआएको छ ।
यस अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायतका ग्रन्थ पाठ, स्तोत्र वाचन र विशेष पूजा गर्ने चलन छ । धार्मिक विश्वासअनुसार देवीको नवदिवसीय आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ ।
देशभरका शक्तिपीठ एवं देवी मन्दिरहरूमा यस अवसरमा भक्तजनको भीड लाग्ने गर्छ । विशेषगरी फूलपातीपछि सार्वजनिक बिदा शुरु हुने भएकाले शक्तिपीठमा दर्शनार्थीहरूको संख्यामा अझै बढोत्तरी हुने परम्परा रहेको छ ।
नवरात्रमा पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिन्छ । यसरी कुल १५ दिनसम्म नेपाली समाजले बडादसैँ पर्व उल्लासपूर्वक मनाउँछन् ।