काठमाडौँ । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार भित्र्याइँदैछ ।
घटस्थापनादेखि पूजित दशैँघर वा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइने परम्परा छ । नवपत्रिका नामले चिनिने फूलपातीलाई नौवटी देवीको प्रतीक मानी शक्तिको आराधनासहित पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।
उनका अनुसार केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । यी देवीहरू नवदुर्गाका पार्षद् अर्थात् सहायक देवी मानिन्छन् ।
फूलपाती भित्र्याएपछि नौवटी देवीको विधिपूर्वक पूजा–आराधना गर्ने प्रचलन छ । यसका लागि विशेष साइत आवश्यक नपर्ने पनि समितिले स्पष्ट पारेको छ ।
यसै दिन हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट फूलपाती भित्र्याउने ऐतिहासिक परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना, त्यहाँबाट काठमाडौँको जमलसम्म ब्राह्मण पूजारीमार्फत ल्याइने र जमलबाट हनुमानढोकासम्म उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य लावालस्करका साथ फूलपाती प्रवेश गराइने चलन छ ।
राजतन्त्रकालमा यस अवसरमा राजाको उपस्थिति रहने परम्परा रहेकामा गणतन्त्र स्थापना पछि संस्कृति मन्त्री उपस्थित हुने प्रचलन कायम भएको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
यस वर्ष फूलपाती सोमबार अपराह्न ४:३० बजे भित्र्याइने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई निमन्त्रण गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।
फूलपातीसँगै दशैँको सामाजिक चहलपहल आजदेखि झन् बढ्ने परम्परा रहिआएको छ ।