शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रहरीद्वारा कारागारबाट भागेका कैदीबन्दीको उच्च निगरानी

आइतबार, असोज १२ २०८२

काठमाडौँ । ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीमाथि प्रहरीले उच्च निगरानी राखिरहेको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार हालसम्म ८ हजार कैदीबन्दी फर्किएका छन् भने झन्डै ६ हजार अझै फरार छन् । आगामी दसैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गर्दा सुरक्षाका ममलामा नागरिकलाई समेत सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

प्रवक्ता घिमिरेले भने, “भागेकामध्ये कोही चोर–डकैत पनि छन्, कोही आफ्ना मुद्दाका कारण बदलाको भावनाले गाउँ फर्कन सक्ने भएकाले नागरिकले सजग रहनुपर्छ । यस्तो अवस्थामा प्रहरीलाई तुरुन्त जानकारी दिन फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।”

उनका अनुसार बदलाको भावना बोकेका कैदीहरूको विवरण सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई पठाइसकिएको छ र सम्भावित घटनाबारे प्रहरी सतर्क रहेको छ । भागेका कैदीमध्ये कतिपय प्रहरी सम्पर्कमा रहेको र कतिपयले आफैं आत्मसमर्पण गरेको जानकारी दिइएको छ ।

यसैबीच, कारागार व्यवस्थापन विभागले पनि भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ । विभागका अनुसार केही कैदी भारतीय प्रहरीको सहयोगमा फिर्ता गरिएको छ भने कतिपयलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरी कारागारमा पुर्‍याइसकेका छन् ।

प्रहरीले खोजी अभियान जारी राखेको उल्लेख गर्दै प्रवक्ता घिमिरेले भागेकामध्ये आपराधिक मानसिकताका व्यक्तिहरूमाथि विशेष निगरानी भइरहेको र उनीहरू कुनै पनि समयमा पक्राउ पर्न सक्ने बताएका छन् । साथै, भागेका कैदीबारे कुनै सूचना प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न नागरिकलाई आग्रह गरिएको छ ।