काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र देशको सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निशानामा पर्नु गम्भीर विषय भएको बताए ।
उनले हालैको जेन–जी आन्दोलनमा निजी क्षेत्रमा व्यापक तोडफोड र आगजनी हुँदा करिब रु ८० अर्ब बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको उल्लेख गर्दै, यसले निजी क्षेत्रको महत्व बुझिन नसकेको प्रमाणित भएको धारणा राखे ।
“निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो, जसले ८१ प्रतिशत आर्थिक योगदान र ८६ प्रतिशत रोजगारी प्रदान गरेको छ,” उनले भने, “तर पनि यो क्षेत्र बारम्बार आन्दोलनको निशानामा पर्ने गरेको छ, जुन दुःखद छ।”
महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पछिल्लो घटनाले उद्योगी व्यवसायीमा असुरक्षाको भावना पैदा गरेको उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गरी सबैको मनोबल उच्च राख्नुपर्नेमा जोड दिए ।
त्यस्तै, उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न सरकार र निजी क्षेत्रबीच निरन्तर संवादको संयन्त्र निर्माण गर्नुपर्ने, साथै व्यवसायीहरूलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्नसक्ने वातावरण सुनिश्चित गर्नुपर्ने सुझाव दिए ।