केन्द्रीय समिति भङ्ग गरेर महाधिवेशन समिति बनाउने प्रस्ताव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव आगामी केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउन प्रस्ताव अघि सार्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राखी आधिकारिक मञ्चबाट संस्थागत धारणा बनाउन आवश्यक देखिएको छ । “महाधिवेशनमा जानका लागि मौजुदा केन्द्रीय समिति विघटन गरेर अध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रचलन छ,” सापकोटाले स्पष्ट पारे ।
यसै विषयमा छलफल गर्न माओवादीले असोज ८ गते स्थायी समिति बैठक र असोज ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकले पदाधिकारी बैठकको प्रस्तावबारे अन्तिम निर्णय गर्नेछ ।
बैठकमा अध्यक्ष प्रचण्डले हालको राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्दै पार्टीलाई नयाँ स्वरूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए । पदाधिकारीहरूले पनि नेतृत्व हस्तान्तरणका विषयमा विचार, विधि र प्रक्रियाबारे प्रारम्भिक छलफल गरेका छन् ।
पार्टीले प्रतिनिधिसभा निर्वाचन (फागुन २१) निर्धारित मितिमै सम्पन्न गराउन पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । साथै, देशभक्त, लोकतान्त्रिक र अग्रगामी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न अपिल गर्ने निर्णय पनि गरेको छ ।
माओवादीले ‘जेनजी’ आन्दोलनले उठाएका मागलाई जायज माने पनि, त्यसलाई उपयोग गरी सिर्जना भएको विशेष राजनीतिक परिस्थितिमा अग्रगमन पक्षधर शक्तिको साझा प्रयास आवश्यक भएको निष्कर्ष निकालेको छ ।