काठमाडौं । जेन–जी आन्दोलनपछि नेपाली कांग्रेसभित्र पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस औपचारिक रूपमा बैठकसम्म प्रवेश गरेको छ । शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नयाँ नेतृत्वसहित पार्टी पुनर्गठनको प्रस्ताव पेश गरे ।
बैठकमा पाँच बुँदे प्रस्तावसहित ब्रिफिङ गर्दै थापाले अब कांग्रेसले आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्पमार्फत आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
भदौ २३–२४ गतेको युवापुस्ताको आन्दोलनले सुशासन र भ्रष्टाचारविरुद्ध दिएको दबाबलाई पार्टीले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । यसका लागि विधानअनुसार मंसिर मसान्तभित्रै नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न सकिने वा सहमति नबने तत्काल विशेष महाधिवेशन बोलाउन सकिने विकल्प उनले प्रस्तुत गरे ।
थापाको प्रस्तावलाई समर्थन गर्दै शर्माले क्रियाशील सदस्यता नवीकरण असोज मसान्तसम्म सक्नुपर्ने, आवश्यक परे १५ कात्तिकसम्म अवधि बढाउन सकिने सुझाव दिए । साथै, प्रधानमन्त्री र राष्ट्रपतिकोसहित संवैधानिक पदमा बस्ने अवधि सीमित गर्ने व्यवस्था आवश्यक भएको उनको धारणा थियो ।
महामन्त्रीद्वयको प्रस्ताव अन्तिम टुंगोका लागि चाँडै बस्ने केन्द्रीय समिति बैठकमा जाने भएको छ । पार्टीले नियमित वा विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने विषयमा त्यतिबेलासम्म निर्णय लिने तयारी गरेको छ ।
१४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समितिको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदै छ । यद्यपि विधानले एक वर्ष थप गर्ने व्यवस्था गरेको भए पनि थापाले अवधि थप्नु हुँदैन भन्ने अडान राखेका छन् ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । अधिकांश पदाधिकारीले तत्काल प्रतिक्रिया नदिए पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद् विघटन संविधानविपरीत भएकाले पुनःस्थापनालाई पार्टीको मूल एजेन्डा बनाउनुपर्ने धारणा राखे । तर, शर्माले जनता सार्वभौम भएकाले वारेसनामा फिर्ता लिएपछि निर्वाचनमा जानुबाहेक विकल्प नभएको तर्क प्रस्तुत गरे ।
सभापति देउवा उपचाररत भएकाले बैठक खड्काको अध्यक्षतामा बसेको थियो । बैठकले वर्तमान संविधानभित्र रहेर समस्याको समाधान गर्ने र जेन–जी आन्दोलनका जायज माग विधिपूर्वक सम्बोधन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
यसैबीच, देउवामाथि भएको आक्रमणमा टाउकोमा गम्भीर चोट लागेका कारण १२ वटा टाँका लगाइएको छ । गर्धनभन्दा माथिल्लो भागमा लागेको चोटपछि उनलाई सैनिक अस्पतालमा उपचार भइरहेको र हाल सामान्य हिँडडुल सुरु गरेकाे भए पनि अझै केही दिन डाक्टरको निगरानीमै बस्ने जनाइएको छ । पत्नी डा. आरजु राणाको चोटपटकबारे भने विवरण खुलाइएको छैन ।