काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले नभई अज्ञात व्यक्तिहरूबाट स्वचालित हतियार प्रयोग भएको दाबी गरेका छन् ।
संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सार्वजनिक संदेश जारी गर्दै उनले घटनाको गहिरो छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् ।
ओलीले शान्तिपूर्ण आन्दोलनमा षड्यन्त्रकारी तत्त्वहरूले घुसपैठ गरी हिंसात्मक रूप दिएको आरोप लगाए । “सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाइएको छ, यसको छानबिन हुनुपर्छ,” उनले भने ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै ओलीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । साथै, उनले संविधान र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध सबै पुस्ताका नेपालीलाई एकजुट हुन आह्वान गरे ।
हालै भएका तोडफोड तथा आगजनीलाई ‘षड्यन्त्र’को संज्ञा दिँदै उनले सिंहदरबार, नेपालको नक्सा, न्यायालय, जनप्रतिनिधि संस्था, व्यापारिक प्रतिष्ठान र दलका कार्यालयमाथि भएको आक्रमणलाई संविधान र सार्वभौमसत्तामाथि गम्भीर चुनौतीको रूपमा व्याख्या गरे ।
ओलीले आफ्ना समर्थक तथा नागरिकलाई संविधानको रक्षा र सार्वभौमसत्ताको सुरक्षामा दृढ भएर उभिन आह्वान गर्दै भने, “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो, संविधान हाम्रो स्वतन्त्रताको कवच हो, हाम्रो एकताले नै देशलाई संकटबाट जोगाउन सक्छ ।”
उनले भनेका छन्- ‘हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।’
अध्यक्षा ओलीले हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्ने बताउँदै भने, ‘सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।’