शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भ्रामक प्रचारप्रति देउवाको सचिवालयको आपत्ति

शुक्रबार, असोज ३ २०८२

काठमाडौं  । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले हालको राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्दै जेन–जी आन्दोलनका क्रममा देखिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

भदौ २३ र २४ गते जेन–जी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख प्रकट गर्दै देउवाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । तर, आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले विभिन्न समूहले २४ गते विहानैदेखि आतंक सिर्जना गर्ने, दलका कार्यालय र नेताहरूको निजी निवासमाथि आक्रमण गर्ने जस्ता अपराधिक क्रियाकलाप गरेको भन्दै सचिवालयले भर्त्सना गरेको छ ।

सभापति देउवामाथि भदौ २४ गते भएको सांघातिक आक्रमणलाई सचिवालयले गम्भीर घटना बताउँदै त्यसपछि पार्टी र नेतृत्वलाई बदनाम गर्ने प्रयोजनका लागि सामाजिक सञ्जालमा ‘अत्यधिक पैसा भेटिएको’, ‘जलेका नोटका अंशहरू फेला परेको’, ‘पैसाको सुरुङ रहेको’ जस्ता कपोकल्पित र भ्रामक प्रचार फैलाइएको स्पष्ट पारेको छ ।

सचिवालयले सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू अतिरञ्जित, कपोकल्पित र दूषित मनसायले फैलाइएका भएकाले त्यस्ता भ्रामक प्रचारप्रति गम्भीर आपत्ति जनाएको जनाएको छ । देउवाको तर्फबाट स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गरेका हुन् ।