काठमाडौँ । जेन जी आन्दोलनपछि देश राष्ट्रिय शोकमा रहेको अवस्थामा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छिन्। उनले धेरै परिवारले आफ्ना सन्तान गुमाएको स्मरण गर्दै शोकमा रहेका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्।
उपमेयर डङ्गोलले दोषी जोसुकै भए पनि पीडित परिवारको न्याय सुनिश्चित गर्न कानुनी कारबाही आवश्यक रहेको र भ्रष्टाचारविरुद्ध जेन्जी पुस्ताले सुरु गरेको सुशासन र समृद्धिको आन्दोलनलाई केवल आक्रोश होइन, वास्तविक परिवर्तनको मागका रूपमा हेर्नुपर्नेमा जोड दिइन्। यस आन्दोलनका क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निष्पक्ष छानबिन आवश्यक रहेको उनले बताइन्।
सहिदहरूको बलिदानले लेखेको इतिहासलाई बिर्सन नहुने भन्दै उपमेयर डङ्गोलले उनीहरूको बलिदान खेर जान नदिने जिम्मेवारी सबैमा रहेको र बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने काम सबैको दायित्व भएको बताइन्।
उनी भन्छिन्, अबको राजनीति ढाकछोप र बहानामा आधारित नभई जबाफदेही र पारदर्शितामा आधारित हुनुपर्छ। दलहरूले विगतका कमजोरी सुधार्दै इमान्दार नेतृत्व, स्पष्ट दृष्टिकोण र जनताको विश्वाससहित स्वमूल्याङ्कन गरी एकजुट हुनुपर्ने उनको भनाइ छ।
सहिदको न्याय सुनिश्चित गर्न र पुनर्निर्माणमा जुट्न सबैको दायित्व रहेको उल्लेख गर्दै उपमेयर डङ्गोलले नेपाल अब नयाँ पुस्ताको काँधमा सही बाटोमा अघि बढ्नुपर्ने बताएकी छिन्।