काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास भारततर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा भने अरब सागर र बंगालको खाडीबाट आएका जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । बाँकी भू–भागका थोरै स्थानमा पनि वर्षा हुनसक्ने उल्लेख छ ।
त्यसैगरी, कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
बिहीबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा अन्य भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।