काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेन–जी आन्दोलनका युवाहरूको जायज मागहरू समयमै सम्बोधन नगरी तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारका कारण हालको परिस्थिति उत्पन्न भएको बताएका छन्।
आज जारी वक्तव्यमा उनले पार्टीको तर्फबाट आन्दोलनपूर्व नै जेन–जीका मागहरूप्रति समर्थन र ऐक्यबद्धता प्रकट गरिएको स्मरण गराएका छन्।
उनले भनेका छन्, ‘उक्त जायज मागहरूलाई समयमा सम्बोधन नगरी तत्कालीन सत्ताधारीहरूले देखाएको अहंकारका कारण दर्जनौँ होनहार युवाहरूले शहादत प्राप्त गर्नुपर्यो भने हाम्रो मुलुकले अपूरणीय क्षति व्यहोर्नुपर्यो। युवा पुस्ताको अगुवाइमा भएको आन्दोलन लोकतान्त्रिक गणतन्त्र स्थापना पछि पनि पारदर्शी र जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा उत्पन्न निराशा र आक्रोशको परिणाम हो।’
वक्तव्यमा नेताहरू र जनताको जीवनशैलीबीचको अन्तर, भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन र आर्थिक–सामाजिक रूपान्तरणका अवरोधहरूलाई पनि यो अवस्थाको कारण भएको उल्लेख छ।
माधव नेपालले भनेका छन्, ‘अहिले युवा पुस्ताको आन्दोलनले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा लैजाने अन्तरिम सरकार गठन भएको छ र निर्वाचनको मिति समेत घोषणा गरिएको छ। अतः इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता, भ्रष्टाचारको अन्त्य, सुशासन र व्यापक रोजगारी सिर्जना गर्न सकेमा मात्र जेन–जी आन्दोलनका शहीदप्रति साँचो श्रद्धाञ्जली हुनेछ।’
पार्टीले युवा पुस्तासँगै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, राज्य तथा निजी क्षेत्र लगायत समाजका सबै अङ्गसँग सहकार्य गर्न तयार रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।
