काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहमाथि धरान उपमहानगरका मेयर हर्क साम्पाङको आक्रामक टिप्पणी अझै जारी छ ।
बालेनले व्यङ्ग्यात्मक शैलीमा गरेको प्रेम प्रस्तावप्रति आक्रोशित बनेका साम्पाङले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन् । आफ्नो पछिल्लो फेसबुक स्टाटसमा उनले लेखेका छन्, “देश जलाएर खरानीको व्यापार ! विदेशीको कटपुतली बनेर रमाइलो गर्दै लभको कुरा ! मुखमा राम राम, बगलीमा बम्फक !”
जेन–जी आन्दोलनपछि काठमाडौं आएर प्रधानमन्त्रीको दाबी गरे पनि सफल नभएको प्रसंगमा आएका आलोचनाबारे साम्पाङले जवाफ दिँदै भनेका छन्, “रित्तो हात धरान फर्के भन्नेहरुलाई के थाहा जन्मेको रित्तै हो ! मरेर जाने नि रित्तै हो ! मैले व्यक्तिगत प्राप्तिको आशा बोकेको होइन, देश संकटमा परेको बेला देश बचाउन निस्केको हुँ ।”
उनका अनुसार काठमाडौं आउनु व्यक्तिगत स्वार्थका लागि नभई राष्ट्रिय संकटमा जिम्मेवारी लिन गरिएको प्रयास थियो । तर, बालेनले देशको पीडामा असंवेदनशील टिप्पणी गर्दै विदेशी इसारामा रमाइरहेको आरोप उनले लगाएका छन् ।
साम्पाङले थप्दै भनेका छन्, “विदेशीको इशारामा निर्दोष विद्यार्थीहरूको रगतको होलि खेल्नेहरू मसँग हात मिलाउन नखोज्दा हुन्छ ! समय र इतिहासले दण्डित गर्नेछ तिमीहरूलाई ! नैतिकता र वैधताको बहसमा तिम्रो हार भैरहनेछ !”