काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले सोमबारदेखि नेपाली नागरिकलाई भिजिट भिसा अस्थायी रूपमा जारी गर्न रोक लगाएको छ।
नेपालमा आतंककारी गतिविधि फैलिएको भन्ने घटनाको पृष्ठभूमिमा यो कदम उठाइएको हो। युएई सरकारले सार्वजनिक सूचना भने जारी गरेको छैन, तर भिसा सेवा प्रदायकहरूले आवेदन लिन रोक लगाइसकेका छन्। आवेदन दिन खोज्दा “नेपाली नागरिकका लागि अस्थायी रूपमा भिसा आवेदन बन्द गरिएको” जानकारी दिइने भएको छ।
यस निर्णय भदौ २४ गतेको प्रदर्शनसँग सम्बन्धित छ, जसमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। त्यस्तै, जेलबाट कैदी फरार भएको घटनापछि सरकारले अनुसन्धान र कारबाही गर्ने खबर बाहिरिएपछि युएईले यस्तो कदम चाल्ने निर्णय गरेको बताइएको छ।
नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिइने देश युएई हो। पछिल्लो तथ्यांकअनुसार, भिजिट भिसाबाट रोजगारीमा रूपान्तरण गर्ने नेपालीको संख्या करिब तीन लाख रहेको छ भने हाल ८ लाख नेपाली युएईमा कार्यरत छन्।