काभ्रेपलाञ्चोक । आगामी असोज १ गतेदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन सकिँदै गएको र चाडपर्व नजिकिएकाले यात्रुको सहजतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
गत असारदेखि बाढी–पहिरोको उच्च जोखिमका कारण रातिको समयमा १२ घण्टासम्म सवारी आवागमनमा रोक लगाइएको थियो। पछिल्लोपटक भदौ १६ देखि थप १५ दिन रातिको आवतजावत रोकिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार मनसुन सक्रिय रहँदा बीपी राजमार्गमा यात्रा जोखिमपूर्ण हुने भएकाले बारम्बार सतर्कता अपनाइ सवारी रोकिएको थियो।
गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्म आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा मात्र आवागमन सम्भव भएको थियो। त्यस क्रममा राजमार्गका तेस्रो खण्ड (सिन्धुलीको खुर्कोट–नेपालथोक, ३४ किमी) र चौथो खण्ड (नेपालथोक–धुलिखेल, ५० किमी) का विभिन्न स्थानमा ठूलो क्षति पुगेको थियो।
हाल क्षतिग्रस्त खण्डलाई स्थायी निर्माणका लागि चार भागमा ठेक्का प्रक्रियामा अघि बढाइएको कार्यालयले जनाएको छ। पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने यो राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले असोज १ देखि २४ सै घण्टा खुल्ने निर्णय यात्रु तथा व्यवसायीका लागि राहतको खबर बनेको छ।