शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, कस्लाई कुन मन्त्रालयको जिम्मेवारी ?

सोमबार, भाद्र ३० २०८२

काठमाडौँ । अन्तरिम सरकारका तीन नवनियुक्त मन्त्रीले सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार साँझ नियुक्त गरिएका अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा गृह, कानुन, न्याय र संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याललाई शपथ ग्रहण गराएका हुन् । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्ने भएकी छन् ।

पूर्वअर्थसचिव खनाल आर्थिक सुधार र सुशासनका एजेन्डामा सक्रिय रहँदै आएका छन् । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ नागरिक हितका मुद्दामा मुखर रहँदै आएका छन् भने अधिवक्ता अर्याल अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीविरुद्धको मुद्दाबाट चर्चामा आएका थिए । नवनियुक्त मन्त्रीहरूले आजै सिंहदरबारमा पदबहाली गर्ने कार्यक्रम रहेको छ ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

‘जेनजी’ समूहको आन्दोलनपश्चात उत्पन्न परिस्थितिमा राष्ट्रपति पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।