काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्र नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले समाज विज्ञानका नियमअनुसार नेतृत्व परिवर्तन अवश्य हुने भएकाले पुनर्गठनका लागि ढिलाइ नगर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार अब अतीतका कारण खोज्दै बस्नु भन्दा भविष्यका कदमबारे छिटो र सुविचारित निर्णय गर्न आवश्यक छ । “अरू क्षति रोक्न जे भयो–भयो, अब के गर्ने, कसरी गर्ने र कहिले गर्ने भन्नेबारे निर्णय गर्नुपर्छ । पार्टीलाई पुनर्गठन अपरिहार्य छ,” उनले उल्लेख गरेका छन् ।
बाँस्कोटाले दल र गणतन्त्रबीचको सम्बन्धलाई जोड्दै भनेका छन्, “दलविना गणतन्त्र बाँच्दैन, गणतन्त्रविना समाज चल्दैन । समय, परिस्थिति र समाज विज्ञानका नियमले नेतृत्व परिवर्तन गराउँछन्, त्यसका लागि सबै तयार हुनैपर्छ ।”