शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा मध्यराति बालुवाटारमा नाराबाजी

सोमबार, भाद्र ३० २०८२

काठमाडौं । जेनजी अभियान्ता सुदन गुरुङ नेतृत्वको समूहले मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै आइतबार मध्यराति बालुवाटारमा प्रदर्शन गरेको छ ।

उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए । आन्दोलनमा ज्यान गुमाएकाहरूका परिवारजन समेत सुदन गुरुङसँगै सहभागी थिए ।

प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि गुरुङले भने, “सबैभन्दा शक्तिशाली नेपाली जनता हुन्, कसैले रोक्न सक्दैन । जहाँ राखेका छौँ, त्यहीँबाट निकाल्न पनि सक्छौँ ।”

स्मरणीय छ, सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री बनेकी थिइन् । तर, कार्कीले आइतबार मन्त्रीपरिषद् विस्तार गर्दै कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्री नियुक्त गरेपछि सुदन समूहले असन्तुष्टि प्रकट गरेको हो ।

नियुक्त मन्त्रीहरूको शपथ सोमबार हुने तयारी छ ।