काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नवनियुक्त अन्तरिम सरकारले आम नागरिकको विश्वास र भरोसा जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा राख्दै उनले जेन–जी आन्दोलनको युवा ऊर्जा र चेतनाबाट जन्मिएको यो सरकारले जनअपेक्षाअनुरूप काम गर्ने विश्वास व्यक्त गरे। देश नयाँ राजनीतिक प्रयोगतर्फ अघि बढेकाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्नेमा समेत उनले जोड दिए।
कोइरालाले आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा सरकार संयमित नबनेको टिप्पणी गर्दै २४ गते आन्दोलनको नाममा भएको आगजनी, लुटपाट, व्यक्तिमाथि भएको हिंसात्मक व्यवहार र त्रास फैलाउने गतिविधिलाई सभ्य समाजले स्वीकार गर्न नसक्ने बताए। कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको हातपातलाई उनले जघन्य अपराधको श्रेणीमा राखे।
उनले कांग्रेसलाई अब अतीतको गल्तीमा समय खर्च नगरी नयाँ परिस्थितिअनुसार अघि बढ्न सुझाव दिए। विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत अग्रजहरूले लोकतान्त्रिक आन्दोलनमा छोडेका पदचिन्हलाई भावी कांग्रेसको दिशानिर्देशक बनाउनुपर्नेमा उनले जोड दिए।
जेन–जी आन्दोलनका कारण ठूला दल सत्ता बाहिरिन बाध्य भएको स्वीकार गर्दै उनले कांग्रेसले युवाको आकांक्षा राष्ट्रिय भावधारामा समाहित गर्दै शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुने प्रतिज्ञा गरे। पार्टी नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउन आवश्यक रहेको उल्लेख गर्दै दशैंपछि देशव्यापी छलफल र बहस सुरु गर्ने घोषणा समेत गरे।
कोइरालाले भने, “अब कांग्रेस दाजु वा भाइको नभई जनताको हुनुपर्छ। हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौं। जनताको विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको जिम्मेवारी हाम्रो काँधमा आउनेछ।”
जेन–जी आन्दोलनकै क्रममा विराटनगरस्थित आफ्नो निवास जलाइएकोप्रति दुःख व्यक्त गर्दै उनले भने, “कोइराला निवासको भौतिक संरचना खरानी हुन सक्छ, तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिँदैन। विपी विचार मर्न सक्तैन। यही खरानीबाट नूतन कांग्रेस निर्माणको प्रण गरौं।”

