शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ : दुर्गा प्रसाईं

शुक्रबार, भाद्र २७ २०८२

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् ।

प्रसाइँले सरकार, संसद र राष्ट्रपति हस्तक्षेप तथा वर्तमान व्यवस्थाप्रति प्रश्न उठाउँदै देश बचाउन सेना सक्रिय हुनुपर्ने सुझाब समेत राखेका छन्।

प्रसाइँले सामाजिक सञ्जालमा आफ्नो अभिमत राख्दै भनेका छन् “संविधान यही ?, संसद यही ?, राष्ट्रपति यही ?, व्यवस्था यही? – यदि सबै यही हो भने आन्दोलन किन गरियो ?? ति कलिला बच्चाको हत्या किन भयो ? ५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो ? जेनजीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने ??” उनले सोधेका छन्।

उनले फेसबुकमा लेखेका छन्, “हिजो पनि पश्चिमहरुको डिजायनमा नयाँ संविधान घोषणा भयो- हिन्दु राष्ट्र गयो, मुलुक धर्मनिरपेक्ष बनाइयो, र सबैले मिलेर राज्य लुटे।” प्रसाइँले देश एकीकरण गर्ने पूर्खाहरू र नेपाली सेनाको योगदानलाई स्मरण गर्दै आज देश जोगाउने जिम्मेवारी नेपाली सेनाका काँधमा परेको भन्दै आपतकालीन कदमको जरुरी आवश्यकता औँल्याए।

उनले भनेका छन् “राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ। नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ, हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ। समय छ – सबैले अहिले नै सोच्नुपर्छ।”

प्रसाईंले हिजो प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा वार्ता समेत गरेका थिए ।