शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद् विघटनमा जुटेन सहमति, कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सहमति

शुक्रबार, भाद्र २७ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन नगरी नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने निर्णय गर्नुभएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका प्रतिनिधिसहित केही पक्षले संसद् विघटनको माग गरे पनि राष्ट्रपति पौडेलले अस्वीकार गरेकाे चर्चा छ ।

शीतलनिवासमा बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म भएको निरन्तर छलफलपछि यो सहमति बनेको हो। छलफलमा राष्ट्रपति पौडेलले संविधानको पालना र संरक्षण गर्ने राष्ट्रप्रमुखको जिम्मेवारीलाई आधार मानेर अघि बढ्ने निष्कर्ष निकालिएको सहभागीहरूले बताएका छन्।

संविधानको धारा ६१(४) मा ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रप्रमुखको प्रथम कर्तव्य हुनेछ’ भन्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्रपतिको पहलमा कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सहमति भएको हो।

छलफलमा उनीहरूले पनि जेनजीको भावनाबमोजिम कार्कीलाई अन्तरिम सरकार बनाएर जानसकिने बताएका थिए।

शीतलनिवासमा राष्ट्रपति पौडेल, सेनापति अशोकराज सिग्देल र पूर्वप्रधान न्यायाधीश कार्कीसहित कानुनविद् ओमप्रकाश अर्याल पनि थिए।

जेनजीले भावी अन्तरिम सरकारका लागि प्रस्ताव गरेको नाम कार्की र राष्ट्रपति पौडेलबीच अन्तरिम सरकार गठन, संसद् विघटन, प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा तथा क्षतिपूर्ति, घाइतेको उपचार, ३० वर्षयताका भ्रष्टाचार छानबिनका लागि आयोग गठनलगायतका मागहरूबारे पनि छलफल भएको थियो।