शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राजनीतिक दलहरूद्वारा जेनजी आन्दोलन र वर्तमान संकटमा संवैधानिक समाधानको अपील

बिहिबार, भाद्र २६ २०८२

काठमाडौं। नेपालका प्रमुख राजनीतिक दलहरूले देश गंभीर संकटग्रस्त अवस्थामा पुगेको बताएका छन्।

जेनजी आन्दोलनका क्रममा भदौ २३–२४ गतेका हिंसात्मक घटनापछि देश राजनीतिक अनिश्चितता र संवैधानिक शून्यताको जोखिमतर्फ धकेलिएको दलका नेताहरूको चेतावनी छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अपिल जारी गर्दै संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत सहमति र संवादबाट मात्र समस्या समाधान सम्भव हुने बताएका छन्। उनीहरूले ‘आवश्यकताको सिद्धान्त’ अनुसार हुने निर्णय पनि वैधानिक प्रक्रियामार्फत अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भदौ २३–२४ गतेको प्रदर्शनमा भएको क्षति माओवादी द्वन्द्वभन्दा पनि बढी भएको टिप्पणी गर्दै, लोकतन्त्रका आधारभूत संस्थाहरूमा भएको आगजनीको निन्दा गरेका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संविधान, व्यवस्था र प्रणालीमाथि खतरा उत्पन्न गर्ने षड्यन्त्र भइरहेको बताउँदै, संवैधानिक प्रक्रिया र लोकतान्त्रिक मार्गबाट मात्र समाधान खोज्न आग्रह गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलनको एजेण्डा लोकतान्त्रिक व्यवस्था र संविधानविरूद्ध नभएको भन्दै, वर्तमान संसदीय प्रक्रियाबाटै माग पूरा गर्न सकिने बताउनुभएको छ। साथै, जेनजी आन्दोलनसँग सम्बन्धित नभएका आगजनी र तोडफोडका घटनाहरूको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गर्नुभएको छ।

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले जेनजी आन्दोलनको दुरुपयोग हुन सक्ने चेतावनी दिँदै, संविधान खारेज र संसद विघटन गर्नु मुलुकको अस्तित्वका लागि घातक हुने बताए ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतन्त्रका आधारभूत अंगहरू जस्तै संविधान, संसद, राष्ट्रपति र राज्यका स्थायी संरचनामा भरोसा राखेर मात्र अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संसद विघटन र संविधान खारेज गरी राजालाई अभिभावक बनाउने पक्षमा विचार व्यक्त गरेका छन् । उनले देशलाई दीर्घकालीन द्वन्द्व र वैदेशिक हस्तक्षेपबाट जोगाउन नयाँ संरचना आवश्यक भएको बताए ।

प्रधान दलहरूबीच फरक दृष्टिकोण भए पनि सर्वोच्च सहमति संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत मात्र वर्तमान संकट समाधान गर्नुपर्नेमा केन्द्रित छ। दलहरूले जेनजी आन्दोलनको भावनालाई सम्मान गर्दै पनि, हिंसा, तोडफोड र कानून उल्लंघनका घटनाहरूलाई अलग राखेर न्याय र शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्।

यस अपीलमा दलहरूले राष्ट्रिय हित, संविधान, लोकतन्त्र, सार्वभौमिकता र सामाजिक स्थिरतालाई प्राथमिकता दिँदै सर्वोच्च संवैधानिक मार्गमै समस्या समाधान गर्न जोड दिएका छन्।