शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जल्दै गरेको घरको भिडियाे राख्दै गर्भनर पौडेल भन्छन् : ‘अब शरणार्थीझैँ भयौँ’

बिहिबार, भाद्र २६ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्व पौडेलको काठमाडौंस्थित भैसेपाटीको आवास आगलागीमा परेर पूर्ण रूपमा जलेको छ । पौडेलले सामाजिक सञ्जालमार्फत आफैंले यो घटनाबारे सार्वजनिक गरेका छन् ।

उनका अनुसार, साढे पाँच आना जग्गामा निर्माण गरिएको सो घर उनी योजना आयोगको उपाध्यक्ष हुनु अघि नै परिवारसहित बस्दै आएका थिए । श्रीमती र ९ वर्षीया छोरीलाई मन परेको कारण गर्भनर भएपछि पनि यही घरमा बसाइँ रहेको उनले बताएका छन् ।

आगलागीको रात परिवार नजिकैको घरमा शरण लिन बाध्य भएको पौडेलले लेखेका छन् । “त्यो दिन हामी सबै ‘शरणार्थी’ भयौँ,” उनले उल्लेख गरेका छन् ।

घरभित्र रहेका किताब, पुराना ऐतिहासिक सामग्री, विभिन्न देशबाट ल्याइएका कलाकृति, दुर्लभ मूर्तिहरू, भियतनामी सिल्क पेन्टिङ, माओत्सेतुङको मूर्ति लगायत सबै आगलागीमा नष्ट भएका छन् । उनले विशेष गरी जंगबहादुरको प्रेमिका लौरा बेलको जीवनी (जसको ५०० प्रति मात्र प्रकाशित भएको थियो) समेत जलेको बताए ।

गर्भनरले छोरीका प्रिय सामग्रीहरू समेत नष्ट भएकोमा पीडा व्यक्त गरेका छन् । कपन गुम्बाका गुरु रिम्पोछेले दिएको एउटा मन्त्रयुक्त खेलौनासमेत कुल्चेर जलाइदिएको उनले बताए ।

उनले घर जलिसकेको दुई घण्टापछि मात्र प्रख्यात अनलाइनमा समाचार आएको भन्दै घटना योजनाबद्ध भएको आशंका समेत प्रकट गरेका छन् । “बेलाबेलामा ढुंगा हान्ने र सामान चोर्ने समूह राति पनि देखिएको छ,” छिमेकीको भनाइ उद्धृत गर्दै उनले भनेका छन् ।

गर्भनर पौडेलले पीडामाथि बढी कुरा नगर्ने बताउँदै, आफूले कुनै गलत आचरण नगरेको दाबी गरेका छन् । “मैले कसैको दुई पैसा खाएको वा मागेको भए रिपोर्ट गर्नुपर्छ,” भन्दै उनले नयाँ सरकार बन्ने तयारीको सन्दर्भमा सत्य र पारदर्शिता कायम राख्नुपर्ने आवश्यकता औंल्याएका छन् ।