काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा आज पनि उच्चस्तरीय वार्ता हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल र जेन–जि आन्दोलनका युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने भएको हो ।
जेन–जि प्रतिनिधिहरूले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले आजको छलफलले त्यसलाई औपचारिकता दिने अपेक्षा गरिएको छ ।
राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देल बिहानैदेखि जेन–जि प्रतिनिधिहरूसँग छलफल गर्ने तयारीमा छन् । युवाहरूले माग गरेका भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने मुद्दा अन्तरिम सरकार गठनको आधार बन्ने बताइएको छ ।
गत केही सातादेखि जारी प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि युवाहरूको मागअनुसार ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
प्रधानसेनापति सिग्देलले हिजो पनि जेन–जि आन्दोलनका प्रतिनिधिहरूसँगै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, व्यवसायी दुर्गा प्रसाईलगायतसँग छलफल गरी सबै पक्षको धारणा सुनेका थिए ।
अन्तरिम सरकार गठनको निर्णयले अब मुलुक नयाँ राजनीतिक यात्रातर्फ उन्मुख हुने अनुमान गरिएको छ ।