काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले हालको अस्थिर परिस्थितिमा संविधान खारेज गर्नुपर्ने आवाज खतरनाक भएको चेतावनी दिएका छन् । उनले संविधानलाई जोगाउन नसकिए देश नै डुब्ने खतरा रहेको उल्लेख गर्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।
संग्रौलाले भने, “हामी उर्लंदो भेलबाढीमा डुङ्गा यात्रा गरिरहेका छौं । यदि डुङ्गा जोगाउन सकिएन भने हाम्रो यात्रा र ज्यान दुवै सकिन्छ । यो डुङ्गा हाम्रो देश हो ।”
उनले सामाजिक सञ्जालमा पाँच बुँदामा आफ्नो विचार प्रस्तुत गर्दै भनेका छन् :
१. जेनजी आन्दोलन हाइज्याक भएको आरोप — संग्रौलाले जेनजी युवाहरूले सुरु गरेको आन्दोलनमा लुटपाट र तोडफोड गर्ने तत्वहरूको व्यापक घुसपैठ भएको दाबी गरे । सिंहदरबार, संसद, सर्वोच्च अदालत र प्रहरी कार्यालय जलाइएकाले यसलाई देशविरोधी गतिविधिको संकेतका रूपमा लिनुपर्ने बताए ।
२. सैनिक छलफलप्रति प्रश्न — उनले आन्दोलन सुरु गर्ने व्यक्तिहरूमध्ये केही संदिग्ध पात्र सेना–संविधान छलफलमा सक्रिय देखिनु शुभ संकेत नभएको टिप्पणी गरे ।
३. संविधानमै समाधान सम्भव — संग्रौलाले भने, “हाम्रो हातमा संविधान छ । संविधान रहेसम्म राष्ट्रपति र सभामुख रहन्छन् । संसद् विघटन भए पनि अध्यादेशमार्फत सरकार चलाउन र निर्वाचन सम्पन्न गर्न सकिन्छ । अहिले संविधान खारेज गर्ने माग राष्ट्रलाई घातक मार्गमा लैजानेछ ।”
४. त्रुटि सच्याउने प्रक्रिया संसदमार्फत — उनका अनुसार संविधान ठूलो दबाबबीच ल्याइएकाले त्रुटि भएकै हो । तर ती सुधार आगामी निर्वाचनपछि बन्ने संसदमार्फत गर्न सकिने बताए ।
५. संविधान खारेजको मागको जोखिम — उनले भने, “संविधान खारेज गर्नु भनेको बाहिरी स्वार्थको खेलमा लाग्नु हो । सर्वोच्च अदालत जलाएर निष्क्रिय पारिएको यस अवस्थामा संविधान फाल्नु भनेको ब्वाँसाले आक्रमण गर्दा छानो फ्याँक्नु जस्तै हो ।”
संग्रौलाले अन्ततः जेनजी युवाहरूसँग समेत अपील गर्दै भने, संविधान खारेज गर्ने माग गलत भएको र त्यसले मुलुकलाई झन् गम्भीर संकटतर्फ धकेल्ने निश्चित भएको छ, त्यसैले सबैले सतर्क रहनुपर्नेछ ।