शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जेनजी युवाको माग संविधान र संसदीय प्रक्रियाभित्रै पूरा गर्न सकिन्छ : प्रचण्ड

बिहिबार, भाद्र २६ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रै समाधान गर्न सकिने बताएका छन् ।

आज जारी गरिएको प्रेस विज्ञप्तिमा प्रचण्डले हालको संविधान र व्यवस्थापिका संसदको शून्यतालाई आधार बनाएर खोजिने राजनीतिक निकास अन्ततः प्रतिगमनलाई फाइदा पुग्ने दाबी गरेका छन् ।

उनले भने, “लोकतन्त्रको विकल्प समुन्नत र अझ सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा । ती माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्र पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं।”

विज्ञप्तिमा प्रचण्डले अहिलेको संविधानलाई कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय र समावेशिताको दृष्टिले तुलनात्मक रूपमा उत्कृष्ट बताउँदै, निकास पनि संविधानसम्मत तरिकाले खोजिनुपर्नेमा जोड दिएका छन् ।

उनले संविधान कार्यान्वयनमा देखिएका चुनौतीको गम्भीर समीक्षा गर्दै समावेशी लोकतन्त्रको रक्षा र प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीको पक्षमा संविधान संशोधन आवश्यक रहेको उल्लेख गरेका छन् ।

साथै, जेनजी आन्दोलनमा भएका तोडफोड, लुटपाट र आगजनीजस्ता घटनाहरू आन्दोलनकारी युवाहरूको आदर्शविपरीत भएको प्रष्ट पार्दै, ती घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गरेका छन् ।

प्रचण्डले अन्ततः सबै पक्षलाई संयमता अपनाउन, संविधानको रक्षा गर्न र लोकतान्त्रिक प्रक्रियाबाटै समाधान निकाल्न अपील गरेका छन् ।