काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरूले अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा समर्थन जनाएका छन् । तर, उनले त्यसअघि संसद् विघटन गर्नुपर्नेमा जोड दिएका छन् ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपतिलाई सम्बोधन गर्दै लेखेका छन्, “जेनजीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकार गठन र संसद् विघटन अविलम्ब गर्नुहोस्।”
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देल समक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि खुलेर समर्थन जनाएका हुन् ।
स्रोतहरूका अनुसार संवेदनशील समयमा नेतृत्व गर्नसक्ने इमान्दार छवि र कानून–विधिको रक्षा गर्ने क्षमताका कारण कार्कीको नाम प्रस्ताव गरिएको हो ।