शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा निर्णायक छलफल

बिहिबार, भाद्र २६ २०८२


काठमाडौं । अन्तरिम सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानन्यायाधीश अशोकराज सिग्देल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ ।

जेनजी प्रतिनिधिहरुले नयाँ प्रधानमन्त्रीका रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेका छन् । आज हुने छलफलले उक्त निर्णयलाई औपचारिकता दिने तयारी भएको हो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार विहीबार बिहानदेखि सुरु भएको संवादले आज ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको आन्दोलनमा १९ जनाको ज्यान गएपछि राजीनामा दिएका थिए । त्यसपछि आन्दोलनकारी युवाहरुको मागअनुसार नयाँ जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।

कार्कीको नामलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत खुलेर समर्थन जनाइसकेका छन् । त्यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि समर्थन गरेको घोषणा गरेका छन् । व्यवसायी दुर्गा प्रसाईंले भने, “देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि स्वीकार गर्ने” अभिव्यक्ति दिएका छन् ।

भर्चुअल माध्यमबाट जेनजी युवाहरुले व्यक्त गरेको मतमा पनि कार्कीलाई व्यापक समर्थन देखिएको थियो । कार्कीले स्वयं पनि अन्तरिम सरकारको नेतृत्व गर्न जेनजीको प्रस्ताव स्वीकार गर्ने बताइसकेकी छिन् ।