काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आज नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट बानेश्वरसम्म आइपुगेको छ।
प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लगाउँदै बानेश्वर पुगेका छन्। यहाँ प्रहरीले प्रदर्शनकारीलाई ब्यारिकेड लगाएर रोकेको छ। प्रदर्शनकारीहरूले हातमा नारा सहितका विभिन्न प्लेकार्ड पनि बोकेका छन्।
सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेन जी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
सोही क्रममा जेनजी पुस्ता र प्रहरीबिच झडप भएको छ। भीड नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ। सुरक्षाकर्मीमाथि ढुंगामुढा र निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।