काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथि सरकारको प्रतिबन्धको विरोध गर्दै आइतबार फेसबुकमा स्टाटस लेखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीव्र प्रतिक्रिया जनाएका छन्।
प्रचण्डले सामाजिक सञ्जाल रोक्ने सरकारी निर्णयलाई गलत ठहर गर्दै लेखेका थिए, “सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन जारी छ।”
उनको पोस्टमा प्रत्यक्ष प्रतिक्रिया दिँदै मेयर बालेनले विगतको प्रसंग सम्झाउँदै कटाक्ष गरेका छन्। बालेनले लेखेका छन्, “एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो। हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केही भएन कमरेड! मेरो लागि एक दिन दिइएको भए म काठमाडौंको खोला नाला फेरिदिन्थे।”
बालेनको यो टिप्पणी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ व्यापक चर्चाको विषय बनेको छ। केहीले यसलाई प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि र जवाफदेहिताको मागको रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई खुला राजनीतिक संवादको सकारात्मक संकेतका रूपमा पनि लिएका छन्।
हालै सरकारले सामाजिक सञ्जालमा लगाएको बन्देजविरुद्ध काठमाडौंसहित विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ, जसले आम नागरिकदेखि राजनीतिक वृत्तसम्मको ध्यान खिचेको छ।