शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विद्यादेवी भण्डारीको पार्टी सदस्यता महाधिवेशनको विषय होइन : अध्यक्ष ओली

शुक्रबार, भाद्र २० २०८२

ललितपुर। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक रूपमा उचालिएको टिप्पणी गरेका छन्।

शुक्रवार गोदावरीस्थित सनराइज हलमा आयोजित दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफलमा नआउने स्पष्ट पारे।

अध्यक्ष ओलीले भने, “कतिपय विषयहरू अनावश्यक ढंगले अघि बढाइएको देखिन्छ। तर ती विधान महाधिवेशनसँग सम्बन्धित छैनन्। ती स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफल हुने विषय हुन्। विधान महाधिवेशनमा भने विधानसँग सम्बन्धित विषयमै केन्द्रित भएर छलफल हुनेछ।”

उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता कमिटीगत छलफलको विषय भएकाले सोही संरचनामा टुंगिनेछ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीले महाधिवेशन कार्यसूचीअनुसार विधानसंग सम्बन्धित विषयमै केन्द्रीत हुने बताए।