शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि

शुक्रबार, भाद्र २० २०८२

ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको उद्घाटनको चहलपहल सनराइज सभाहलमा सुरु भइसकेको छ।

गोदावरीको मुख्य सडकदेखि सभा हलसम्मको प्रवेशद्वारबाट प्रतिनिधि, पर्यवेक्षक र सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गर्दै छन्। सहभागीहरूका लागि मुख्य सडक छेउमै सवारी पार्किङको व्यवस्था गरिएको छ।

स्वयंसेवक र प्राविधिकले कार्ड स्क्यान प्रक्रिया सुरु गरिसकेका छन्। हाल प्रतिनिधि र पर्यवेक्षकका लागि गेटभित्र प्रवेश प्रक्रिया खुला भएको छैन। सञ्चारकर्मीका लागि हल बाहिरै मिडिया सेन्टर राखिएको छ।

हलभित्र स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय सदस्य, आयोग प्रमुख र प्रतिनिधिहरूका लागि प्रदेश अनुसार सिट व्यवस्थापन गरिएको छ। उपमहासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापन संयोजक पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले तयारीको नेतृत्व गरिरहेका छन्।

मञ्चमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची राखिएको छ। दुवैतिर पार्टी र राष्ट्रिय झण्डाले सजावट गरिएको छ। मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर, दायाँतिर कार्ल मार्क्स, एङ्गेल्स र लेनिनको तस्बिर राखिएको छ। मञ्चको शीर्ष भागमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो महाधिवेशन’ लेखिएको छ र सर्वोच्च शिखर सगरमाथाको प्रतीक, सूर्यभित्र हँसिया-हथौडा र नेपालको झण्डा राखिएको छ।

प्रत्यक्ष प्रसारणका लागि बाहिर डिजिटल बोर्ड राखिएको छ। हलका दाँया–बाँया झ्यालमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ नारासहित दुई ठूला डिजिटल बोर्ड राखिएका छन्।

महाधिवेशन “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य” मूल नारासहित सुरु हुँदैछ।

दोस्रो विधान महाधिवेशनमा २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २,३४१ जना सहभागी रहनेछन्। स्वयंसेवक र सुरक्षा निकाय सहित ३,५०० जनालाई खानाको व्यवस्था गरिएको छ।