शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रहरी संगठनको हित र संस्थागत सुधार प्राथमिकतामा : नवनियुक्त आईजीपी खापुङ

बिहिबार, भाद्र १९ २०८२

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सोमबार दर्ज्यानी चिन्ह ग्रहण गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई चिन्ह लगाइदिएका हुन्।

सो अवसरमा सचिव दुवाडीले क्षमता, कार्यदक्षता र जेष्ठतालगायतका आधारमा सरकारले खापुङलाई प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको बताउँदै शान्ति–सुरक्षा कायम, अपराध नियन्त्रण र सामाजिक न्याय प्रवर्द्धनमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

“आम नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति दिलाउनु नै प्रहरीको कर्तव्य हो,” दुवाडीले भने, “सकल दर्जाका प्रहरीको मनोबल उच्च राख्दै संगठनको साख अझ राम्रो बनाउन सक्नुहुनेछ भन्नेमा हामी आशावादी छौँ।”

समाजमा अपराधका नयाँ–नयाँ स्वरूप देखा परिरहेका बेला ती नियन्त्रण गरी न्याय स्थापना गर्न आवश्यक रहेको पनि सचिव दुवाडीले बताए।

त्यसैगरी, नवनियुक्त आईजीपी खापुङले सक्ने मात्र राम्रो गर्ने प्रतिबद्धता जनाउँदै प्रहरी संगठनको हित र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने बताए। उनले अपराध अनुसन्धानमा बढ्दो चुनौतीको सामना गर्न कृत्रिम बुद्धिमत्ता (एआई), साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय प्रकृतिका अपराध नियन्त्रण गर्न क्षमतावृद्धि अपरिहार्य भएकोमा जोड दिए।

तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा आईजीपीसम्म पुगेको स्मरण गर्दै खापुङले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।