काठमाडौँ । नेपाल प्रहरीका ३२औँ महानिरीक्षक (आईजी) चन्द्रकुबेर खापुङले बिहीबार पदभार ग्रहण गरेका छन्।
गृह मन्त्रालयमा सचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिन्ह (फूली) लगाइदिएपछि उनले औपचारिक रूपमा नेतृत्व सम्हालेका हुन्।
यसअघि निवर्तमान आईजी दीपक थापालाई बुधबार विदाई गरिएको थियो।
सालिन स्वभावका खापुङलाई भाग्यमानी प्रहरी अधिकारीका रूपमा लिइन्छ। एउटै ब्याचमा प्रवेश गरेका प्रहरी निरीक्षकमध्ये कान्छा भएकै कारण उनी प्रहरी संगठनको शीर्ष नेतृत्वसम्म पुगेका हुन्।
फूली लगाइसकेपछि आईजी खापुङ कार्यभार सम्हाल्न प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन्। वर्तमान कानुनअनुसार उनको कार्यकाल आगामी कात्तिक २५ गतेसम्म रहनेछ।
उनीसामु तत्कालको प्रमुख चुनौती कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ३ (रुपन्देही) र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ (मनाङ) मा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन रहनेछ।
यदि यस अवधिमा संशोधित प्रहरी ऐन पारित भई कार्यान्वयनमा गएमा खापुङले थप ६ महिना (१८० दिन) सम्म संगठनको कमान्ड गर्ने अवसर पाउने सम्भावना रहेको छ।