काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दायर मुद्दाको अन्तिम सुनुवाइ आजदेखि काठमाडौँ जिल्ला अदालतमा सुरु हुँदैछ। दुई वर्षदेखि विचाराधीन रहेको यस मुद्दामा अब टुङ्गो लाग्ने चरणमा पुगेको छ।
मुद्दामा नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् भने नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा भएका छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अभियोगसहित ३१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। यसमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतका व्यक्तिहरू पनि प्रतिवादी छन्।