काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकता प्रक्रियालाई अघि बढाउने विषयमा छलफल तीव्र बनेको छ ।
मंगलबार दुवै नेताले उपत्यकास्तरीय नेताहरूसँग एकताको सम्भावना र आधारबारे सुझाव लिएका छन् ।
प्रदेशस्तरीय नेताहरूले विचार, सिद्धान्त, संगठन र भावनात्मक एकरूपता कायम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूको भनाइमा, विगतमा एउटै संगठनमा काम गरेको अनुभव भएकाले एकता गर्दा समस्या नहुने देखिन्छ । तर, दुबै दलभित्र नेतृत्वप्रति आन्तरिक असन्तुष्टि भने देखिएको छ ।
माओवादी महासचिव देव गुरुङले विचार मिल्ने शक्तिहरू अन्ततः एउटै ठाउँमा आउने बताए । समाजवादीका नेता प्रमेश हमालले एकताका लागि वैचारिक र नीतिगत आधार मिल्नुपर्ने धारणा राखे । स्थायी समिति सदस्य आलोक रायमाझीले समाजवादको स्थापनाका लागि वाम एकता अपरिहार्य भएको निष्कर्षमा पुगेको बताए ।
नेताहरूका अनुसार सम्भावित एकतापछि पार्टीको नाम नयाँ राखिनेछ, प्रचण्ड र नेपाल अध्यक्ष हुनेछन् भने संसदीय दलको नेतामा प्रचण्ड रहनेछन् । पाँच पार्टी एकता भए प्रतिनिधिसभामा ४३ सांसद पुग्नेछ ।
तर, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालपक्ष भने तत्काल माओवादीसँग एकता गर्न हतारो नगर्नुपर्ने पक्षमा छन् ।
उनीहरूका अनुसार आधिकारिक छलफल नगरी एकता प्रक्रियालाई अगाडि बढाउँदा धेरै नेता–कार्यकर्ता असन्तुष्ट हुने जोखिम छ । हालै ५० केन्द्रीय सदस्यले यसै विषयमा असन्तुष्टि सार्वजनिक गरेका थिए ।