रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ का लागि चयन गरेको डा. लेखजंग थापाले आफ्नो एक श्रीमतीसँगको सम्बन्ध विच्छेदको प्रमाण सार्वजनिक गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटसमार्फत उनले २०७९ माघमा रुपन्देही जिल्ला अदालतले दिएको सम्बन्धविच्छेद आदेश प्रस्तुत गरेका हुन्।
उनी बहुविवाहको विवरण सञ्चार माध्यममा पहिले नै सार्वजनिक भइसकेका थिए।
थापाले सम्बन्धविच्छेदपछि पनि बच्चासँग आफ्नो सम्बन्ध सुमधुर रहेको स्वीकार गरेका छन्, तर कुन श्रीमतीसँग सम्बन्ध विच्छेद भएको हो भन्ने कुरा खुलाएका छैनन्। उनले लेखेका छन्, “सन्तानको भविष्यका लागि जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिन यदि सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो मेरो गल्ती हो भने मलाई ग्लानी छैन। सम्बन्धविच्छेदको अर्थ एकअर्कालाई गाली गर्ने होइन।”
रुपन्देही–सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका ४९ वर्षीय डा. थापा वरिष्ठ न्यूरोलोजिस्ट हुन्।