शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विश्वव्यापी शासन प्रणाली प्रभावकारी र कुशल बनाउन आवश्यक : प्रधानमन्त्री ओली

मंगलबार, भाद्र १७ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिएका छन् ।

चीनको औपचारिक भ्रमणका क्रममा ‘साङ्घाई सहयोग सङ्गठन प्लस बैठक’लाई सम्बोधन गर्दै उनले ग्लोबल गभर्नेन्स इनिसिएटिभ मार्फत बहुपक्षीय प्रणालीलाई न्यायपूर्ण, समावेशी र समतामूलक बनाउन मद्दत पुर्‍याउन सकिने बताए ।

प्रधानमन्त्री ओलीले बढ्दो असमानता, आर्थिक अस्थिरता, जलवायु संकट र सीमाविहीन द्वन्द्वले विश्वव्यापी प्रगतिलाई चुनौती दिएको उल्लेख गर्दै बहुपक्षीयता अहिले संकटमा रहेको औँल्याए। उनले भने, “कुनै पनि राष्ट्र एक्लै सुरक्षित रहन सक्दैन, कुनै जनता खण्डित अवस्थामा समृद्ध हुन सक्दैन। बहुपक्षीयता हाम्रो समयको अपरिहार्यता हो।”

साथै, उनले क्षेत्रीय सुरक्षा, आतंकवाद, जलवायु परिवर्तन, साइबर हमला, महामारी र पारिस्थितिक संकटजस्ता चुनौतीको सामना गर्न सङ्घीय सहयोग आवश्यक भएको र नेपालको साङ्घाई सहयोग सङ्गठनप्रति प्रतिबद्धता अटल रहेको बताए ।

प्रधानमन्त्री ओलीले सहयोग, संवाद, कूटनीति र साझेदारी बढाएर न्यायपूर्ण, समावेशी र लचिलो विश्वव्यापी व्यवस्था निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए। उनले साङ्घाई सहयोग सङ्गठनभित्र क्षेत्रीय सहयोग बढाउने प्रतिबद्धता दोहोर्याउँदै सदस्य राष्ट्रको प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरे ।