काठमाडौं । हिन्दू धर्मावलम्बीहरूका लागि मंगलबारको दिनलाई विशेष धार्मिक महत्त्वका साथ मनाउने परम्परा रहेको छ।
यस दिन विघ्नहर्ता र बुद्धिका देवता गणेशको विधिपूर्वक पूजा–आराधना गरिन्छ। शुभकार्यका प्रारम्भकर्ता मानिने गणेशलाई खुसी पार्न दूबो (कोशो घाँस), मोदक, लड्डु, सुन्तला र रातो फूल अर्पण गर्ने चलन छ। विशेषतः २१ दूबोको गुच्छा चढाउँदा भगवान गणेशको विशेष कृपा प्राप्त हुने विश्वास रहिआएको छ।
मंगलबार व्रत बस्नेहरूले दिनभर लसुन, प्याज र मासुजन्य परिकार नखाई शुद्ध शाकाहारी भोजन ग्रहण गर्ने प्रथा छ। धार्मिक मान्यताअनुसार, यस दिन गणेशको पूजा गर्दा घरमा सुख–शान्ति र समृद्धि बढ्ने, विघ्न–बाधा टर्ने र नयाँ काम सफल हुने जनविश्वास छ। साथै मंगलबारको व्रतले मंगल ग्रहको प्रतिकूल प्रभाव पनि शान्त हुने मान्यता पाइन्छ।
गणेशको आराधना गर्दा “ऊँ भौमाय नमः” मन्त्र पाँच माला जप गर्नुपर्ने धार्मिक विधान छ। पूजामा रातो फूल, फलफूल, तामा र नरिवल अर्पण गर्ने परम्परा छ।
यस दिन हनुमानजीको उपासनालाई पनि उत्तम मानिन्छ। पौराणिक विश्वासअनुसार, हनुमान मंगलको अरिष्टदेवता हुन्। उनलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाय’ भनेर पुकारिन्छ। धार्मिक कथाअनुसार, सबै ग्रहभन्दा शक्तिशाली हनुमानलाई छलकपट रहित, निश्चल हृदयका देवता मानिन्छ। जीवनभर अविवाहित रही ब्रह्मचार्यमा लीन योगीका रूपमा समेत उनको आराधना गरिन्छ।
मंगलबारको व्रतसँग जोडिएको एक लोकप्रिय कथामा भनिएको छ— एक ब्राह्मणीले हनुमानको श्रद्धापूर्वक पूजा गरेपछि ‘मंगल’ नामक पुत्र प्राप्त गरिन्। त्यसयता मंगलबार हनुमानको उपासना गर्ने परम्परा अझ गहिरो रूपमा स्थापित भएको मानिन्छ।