'छिमेकी राष्ट्रले चित्त दुखाउनुपर्ने कारण छैन'
वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको प्रष्ट पार्दै यसबारे छिमेकी मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्ने कुनै कारण नभएको बताएका छन्।
नेपाल प्रेस युनियन पर्साले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,“लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो। हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन। यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणकै क्रममा भारत–चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौताप्रति व्यक्त गरेको आपत्ति उचित भएको बताए।