शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

सोमबार, भाद्र १६ २०८२

बागलुङ । कालापैराखोलामा आएको भीषण बाढीका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको निसीखोला गाउँपालिका–४ अन्तर्गत पर्ने बुर्तिबाङ–पूर्वी रुकुम खण्डमा आएको बाढीले यातायात ठप्प भएको हो।

आइतबार दिनभर परेको वर्षापछि राति बाढी आएको र अहिलेसम्म सडक खोल्न नसकिएको वडा अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।

लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौँ र पोखरा जाने सवारी साधन कालापैरामा रोकिएका छन्। बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा जाने साना यातायात साधन कानाबगरमा रोकिएको छ।

अध्यक्ष पौडेलका अनुसार लगातार वर्षाका कारण लोकमार्गका विभिन्न ठाउँमा पहिरो गएको र रुख ढलेका कारण सडक अवरुद्ध भइरहेको छ। वर्षासँगै माथिबाट लेदो झरेर सडकमा जम्दा यातायात सञ्चालनमा कठिनाइ भइरहेको छ।

पौडेलले बताएअनुसार, “यसपाली ठूलो बाढी आयो, त्यसले गर्दा सवारी साधन आवागमन ठप्प भएका छन्। लोकमार्गमा काम गर्ने मेसिन मगाएर खुलाउने प्रयास गरेका छौँ। एकतर्फी भए पनि खुलाएर यात्रुलाई गन्तव्यमा पठाउनुपर्छ। सबै सडक सफा गर्न धेरै समय लाग्छ, सडक पूरै बगरमा परिणत भएको छ।”